छिटो आर्थिक क्रान्ति गर्न गोरखा-२ रोजेको हुँ: प्रचण्ड

काठमाडौं, कार्तिक २४ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन्।

बिहीबार गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले, ‘राजनीतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ।’

निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष दाहालले भने, ‘मैले यसअघि जितेको चितवनमा ६११ किमि बाटो कालोपत्रे भएको छ। म हिडेको धुलेबाटोहरु मेरै कार्यकालमा कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उनले बताए।

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्