वैदेशिक रोजगारीका नाममा हुने व्यक्तिगत ठगीका उजुरी दोब्बरले वृद्धि

काठमाडौं, कार्तिक २४ । वैदेशिक रोजगारीका नाममा हुने व्यक्तिगत ठगीका उजुरी दोब्बरले बढेको छ ।

आर्थिक वर्ष २०७८र०७९ को तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ठगीका उजुरी दोब्बरले बढेको हो । कोभिड–१९ संक्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै ठगी पनि बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका युवाले नौ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी गरेकामा चालू आर्थिक वर्षको सोही अवधिमा यो रकम बढेर १९ करोड दुई लाख रुपैयाँ पुगेको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ठगीका दुई सय ४२ वटा उजुरी परेका छन् भने संस्थागत ठगीका दुई सय ४५ वटा उजुरी परेका छन् । गत वर्षको साउन, भदौ र असोज महिनाको तुलनामा यस वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरी शत प्रतिशतले वृद्धि भएको विभागको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाँउकै दलाल, वैदेशिक रोजगार कम्पनी र तिनीहरूले अवैध रूपमा राखेका एजेन्ट र विदेश पढ्न पठाउन भन्दै खोलिएको शैक्षिक परामर्शदताबाट ठगिने गरेका छन् । वैदेशिक रोजगारीमा अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने कानुनी व्यवस्था छ ।

तर कतिपय म्यानपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको विभागको दाबी छ । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या पनि बढेका छ ।

सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भए पनि विभागमा उजुरी दर्ता भएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको साउन–असोजमा वैदेशिक रोजगारी पठाइदिने भन्दै दुई सय ४२ वटा व्यक्तिगत उजुरी परेका छन् । विभागले गत वर्षको सो अवधिमा एक सय ५९ वटा उजुरी परेको जनाएको छ ।

चालू आर्थिक वर्ष ४५ वटा उजुरीमा मिलापत्र भएर पीडितले ४२ करोड रुपैयाँ फिर्ता पाएको र १७ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता भएको विभागले जनाएको छ । विभागको अनुसन्धान तथा मुद्दा शाखाका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १९ करोड रुपैयाँको ठगी उजुरीमध्ये ११ करोड ९९ लाख रुपैयाँ बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्