देशको भविष्यलाई उज्वल बनाउन योग्य व्यक्ति छानौँः प्रकाशमान सिंह

काठमाडौं, कार्तिक २४ ।  काँग्रेस संस्थापक नेता सिंहको आज विभिन्न कार्यक्रम गरेर देशभर १०८ औं जन्मजयन्ती मनाइँदै छ।

सोहि क्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देशको भविष्यलाई उज्वल बनाउनका लागि मतदाताले योग्य व्यक्तिको चयन गर्नुपर्ने बताएका छन्।

बिहीबार नेपाली काँग्रेसका संस्थापक नेता स्व।गणेशमान सिंहको १०८ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आसन्न मंसिर ४ गतेको निर्वाचनमा जनताले चुनेर पठाएका प्रतिनिधिहरुले संविधान सभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्नुपर्नेमा जोड दिन आवश्यक रहेको उनले बताए।

उनले काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताए। उनले आसन्न निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्नपनि आग्रह गरे ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका नेता सिंहले समावेशिता र लोकतन्त्रलाई मजबुत गर्न गठबन्धन लाग्ने बताए। संघर्षबाट प्राप्त गरेको अधिकारलाई सुनिश्चित र सुरक्षित गर्दै आगामी दिनमा विकासका काम अघि बढाउनु नै गणेशमान सिंहप्रतिको सच्च श्रद्धाञ्जली हुने बताए।

नेता सिंहले कार्यक्रममा गणेशमान सिंहले गरेका कामहरुको चर्चा गरी आजको दिनमा पनि उनका कामहरुलाई व्यवहारमा उतार्न आवश्यक्ता रहेको बताए।

प्रतिक्रिया दिनुहोस्