भूकम्पले बस्ती खण्डहर बनेपछि (तस्बिरहरु)
काठमाडौं, कार्तिक २३ । मंगलबार रातिदेखि बुधबार बिहानसम्म गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पको धक्काले घर भत्किँदा च्यापिएर ६ जनाको मृत्यु भएको हो। घर भत्किएर च्यापिँदा अन्य ५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा पूर्वीचौधी–३ ठाडागाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी छोरी १२ वर्षीया छोरी तुलसी बोहरा र प्रेमकै घरमा सुतिरहेकी स्थानीय स्थानीय रामवीर बोहराकी १७ वर्षीय छोरी धनसरी बोहरा छन्। यस्तै, सोही गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
भूकम्पको धक्काले पूर्वीचौकी गाउँपालिकामा ८ वटा घर भत्किएका छन्। भूकम्पले भत्काएका घरको भग्नावशेष हटाउन तथा थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ।
भूकम्पबाट घर क्षति भएपछि स्थानीय बाहिर आँगनमा खाना पकाएर खान बाध्य भएका छन्। कतिपय भने भूकम्पले घर भत्काएपछि पुरिएका सामान निकाल्न व्यस्त छन्।


















प्रतिक्रिया दिनुहोस्