अब जनताले महशुस गर्ने गरी विकास र समृद्धिको सपना साकार पार्छौं: खाँण

काठमाडौं, कार्तिक २३ । गृहमन्त्री तथा रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले अवको पाँच वर्षमा जनताले महशुस गर्ने, आँखाले देख्ने र जीवनस्तर परिर्वतन हुने गरी विकास गर्ने बताएका छन्।

चुनावी अभियानको क्रममा क्षेत्र नं. ३ का विभिन्न स्थानमा भएका सभालाई सम्बोधन गर्दै नेता खाँणले यस्तो बताएका हुन् ।

उनले लोकतान्त्रिक गठबन्धनले अवको निर्वाचन जितेर जनताले महशुस गर्ने गरी देशको विकास र समृद्धिको सपना साकार पार्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले जनताको अवस्था बदल्नकै लागि गठबन्धन गरीएको भन्दै उनले पाँच दलीय गठबन्धनको शक्तिले मात्रै समुन्नत नेपाल निर्माण गर्न सक्ने दाबी गरे।

राजनीतिक दलहरुकै सहमतिमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको भन्दै उनले गरिबी र बेरोजगारी समस्याको अन्त्य गर्न गठबन्धन नै निर्णायक शक्ति बन्ने बताए।

नेता खाँणले हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन देशका १ सय ३० स्थानमा अगाडि रहेको पनि जानकारी
गराए । मेहनत गर्दै जाँदा गठबन्धनको अग्रता अझै बढ्ने पनि उनको भनाइ रहेको छ ।

साथै उनले माधव नेपाल प्रधानमन्त्री र आफू सिंचाइमन्त्री भएको बेला रुपन्देहीमा धेरै विकासका आयोजना अगाडि बढेको बताए।

भैरहवा–परासी सडक खण्डको विस्तार, बेलहिया–बुटवल व्यापारीक मार्ग विस्तार, जनताको तटबन्धन जस्ता महत्वपूर्ण आयोजानहरु नेपाल प्रधानमन्त्री र आफू सिंचाइमन्त्री भएको बेला सुरु गरिएको गृहमन्त्री खाँणले बताए। उनले राष्ट्रिय महत्वका ठूला आयोजनाहरु सबै काँग्रेसका पालाम सुरु गरी केही निर्माण सम्पन्न गरेको र केही आयोजना अवको पाँच वर्षमा जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाए।

भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, रुपन्देहीमा अधिकांश नदी खोलामा पुल निर्माण, करिडोर सडकहरु, औधागिक क्षेत्र, खानेपानी, अस्पताल तथा स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती जस्ता विकास निर्माणका योजनाहरु नेपाली काँग्रेसले ल्याएको उनले बताए।

खाँणले गठबन्धनको जित पछि समग्र रुपन्देहीको विकासका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग, व्यवसायको विकास र विस्तार हुने गरी बहुपयोगी आयोजनाहरु ल्याउने प्रतिबद्धता पनि गरे।

 

प्रतिक्रिया दिनुहोस्