जवानदेखि डिएसपीसम्मका २३ सय नेपाल प्रहरी भोलिदेखि फिल्डमा खटिँदै

काठमाडौं, कार्तिक २१ । नेपाल प्रहरीले मंगलबारबाट निर्वाचनलक्षित मातहतका सुरक्षाकर्मीलाई सम्बन्धित जिल्ला खटाउने तयारी गरेको छ ।

नेपाल प्रहरीका अनुसार पहिलो चरणमा प्रहरी प्रधान कार्यालयबाट दुई हजार दुई सय ९३ सुरक्षाकर्मी जिल्ला खटिनेछन् । जसमा प्रहरी जवानदेखि डिएसपीसम्मका सुरक्षाकर्मी हुुनेछन् ।

प्रहरीका अनुसार उनीहरू खोटाङ, ओलखढुंगा, सोलुखुम्बु, झापा, इलाम, कालिकोट, मोरङलगायत जिल्लामा जानेछन् । निर्वाचन सकिएपछि मात्रै उनीहरू फिर्ता हुनेछन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले निर्वाचनलक्षित सुरक्षाका लागि उपत्यकाबाट पहिलो चरणमा २२ सय सुरक्षाकर्मी जिल्ला पठाउने तयारी रहेको बताए । निर्वाचनमा नेपाल प्रहरीका मात्रै ६७ हजार दुई सय ९६ सुरक्षाकर्मी निर्वाचन सुरक्षा प्रयोजनमा खटिनेछन् ।

उनीहरूमातहत एक लाख १२ हजार म्यादी रहनेछन् । निर्वाचन सुरक्षार्थ पहिलो घेरामा म्यादी र नेपाल प्रहरीका सुरक्षाकर्मी खटिनेछन् । जसअनुसार प्रतिनिर्वाचनस्थल आठदेखि १२ जनासम्म सुरक्षाकर्मी खटाउने प्रहरीको तयारी छ ।

निर्वाचन आयोगका अनुसार देशभर १० हजार आठ सय ९२ निर्वाचनस्थल तोकिएका छन् । जसलाई सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएका छन् ।

जसअनुसार तीन हजार चार सय १२ स्थल अति संवेदनशील सूचीभित्र परेका छन् । निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ जनाको दरले १२ सुरक्षाकर्मी खटिनेछन् ।

सुरक्षा संवेदनशीलताको दृष्टिले चार हजार चार सय २० स्थल संवेदनशील सूचीभित्र परेका छन् । निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ गरी नौ सुरक्षाकर्मी खटिनेछन् । तीन हजार ६० निर्वाचनस्थल सामान्य सूचीभित्र परेका छन् । निर्वाचनस्थलमा भने नेपाल प्रहरीको तीन र म्यादी पाँच गरी आठ सुरक्षाकर्मी खटिनेछन् ।

यस्तै आगामी ४ मंसिरमा हुने निर्वाचन सुरक्षार्थ खटिने सुरक्षाकर्मीमध्ये १२ प्रतिशत महिला सुरक्षाकर्मी रहनेछन् । जसमा सबैभन्दा ठूलो हिस्सा नेपाल प्रहरीको रहनेछ । प्राप्त तथ्यांकअनुसार निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीमातहत म्यादी र नेपाल प्रहरी गरी देशभर दुई लाख १७ हजार दुई सय ९६ सुरक्षाकर्मी खटिनेछन् । जसमध्ये ३० हजार ६ सय तीन महिला सुरक्षाकर्मी हुनेछन् ।

नेपाली सेनाबाट मात्रै निर्वाचन सुरक्षार्थ करिब ७५ हजार सुरक्षाकर्मी खटिनेछन् । जसमध्ये ६ हजार ९८ सुरक्षाकर्मी महिला हुनेछन् । सशस्त्र प्रहरीबाट निर्वाचन सुरक्षार्थ कुल ३४ हजार आठ सय ३८ सुरक्षाकर्मी खटिनेछन् ।

जसमध्ये महिलाको संख्या तीन हजार एक सय १० रहनेछन् । यता आसन्न निर्वाचनमा निर्वाचन आयोगले दुई लाख ४६ हजार कर्मचारी खटाउँदै छ । यो सुरक्षाकर्मीबाहेक निर्वाचनमा खटिने सरकारी जनशक्ति हो । आवश्यकताका आधारमा थप कर्मचारी काजमा लिन सक्ने व्यवस्था पनि छ ।

निर्वाचन आयोग ऐन तथा निर्वाचन जनशक्ति व्यवस्थापनसम्बन्धी निर्देशिका र कार्यविधिमा टेकेर आयोगले जनशक्ति व्यवस्थापनको योजना तयार गरेको छ । जसअनुसार कतिपय कर्मचारी फिल्डमा खट्न थालिसकेका छन् भने कतिपय खटिने क्रममा छन् ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले ४ मंसिरको निर्वाचनलाई केन्द्रित गरेर कतिपय कर्मचारी निर्वाचन प्रक्रियाका लागि खटिसकेको जनाए ।

प्रतिक्रिया दिनुहोस्