क्रिकेट करियर ध्वस्त भयो सन्दीपको, गए जेल

काठमाडौं, कार्तिक १८ । क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।अब लामिछानेलाई केन्द्रीय कारागार सुन्धारमा राखिने भएको छ।

साथै अब उनको क्रिकेट जीवन पनि ध्वस्त भएको छ । उमेरले २३ वर्ष लागेका सन्दीपको क्रिकेट ‘करिअर’मा तत्कालका लागि ब्रेक लागेको छ । छोटो समयमै क्रिकेटमा चम्किएका लामिछाने अन्तर्राष्ट्रियस्तरमा समेत नाम कमाउन सफल खेलाडी हुन् ।

एसोसिएट राष्ट्रका स्टारका रुपमा पहिचान बनाएका क्रिकेटर सन्दीप लामिछानेले छोटो समयमा ठूलो सफलता हात पारेका थिए । उनले हासिल गरेको सफलता लोभलाग्दो थियो ।

शुक्रबार नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

कानुन व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले तत्काल प्राप्त प्रमाणलाई आधार लिएको छ।

तत्काल प्राप्त प्रमाणमा पीडितले दिएको किटानी जाहेरी, मौकाका गरिएको कागज, पीडितको कागज, घटना प्रकृति मुचुल्का, पीडितको शरीर परीक्षण र होटलवालाले गरेको कागजलगायतका प्रमाण छन्। यी आधारलाई केलाउँदा लामिछाने निर्दोष हुन् भन्ने प्रमाण पुग्न नसकेको भन्दै अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको न्यौपानेले बताए।

प्रतिवादीले पेस गरेका साबालिग भएको प्रमाणका विषयमा विश्वस्त हुन नसकिएको तर यस विषयमा मुद्दाको पूर्ण फैसलामा समेटिने विषय समेत आदेशमा उल्लेख भएको उनको भनाइ छ।

यता लामिछाने पक्षले भने आशाभन्दा बाहिरको आदेश आएको भन्दै उच्च अदालत जान सक्ने संकेत गरेको छ।

गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बलात्कार गरेको आरोप सन्दीपमाथि छ । सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

​उनी विदेशबाट फर्कनासाथ दशैँको टिकाको भोलिपल्ट विमानस्थलबाटै पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्