सन्दीप प्रकरण : जवाफी बहस गर्दै सरकारी वकिल, आजै आदेश आउने सम्भावना

काठमाडौं, कार्तिक १८ ।  राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा जारी थुनछेक बहसअन्तर्गत आज जवाफी बहस हुने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता गराएको बलात्कार मुद्दामा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस भइरहेको छ।

बिहीबार लामिछानेका तर्फबाट बहस सकिएको र आजका लागि हेर्दाहेर्दैमा राखिएको मुद्दामा सरकारी पक्षलाई प्रतिवाद गर्ने समय दिइएको छ।

त्यसपछि अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीम रिहा गर्ने भन्ने विषयमा आदेश दिनेछ। सरकारी वकिलले जवाफी बहस सकेमा आजै आदेश आउने सम्भावना रहेको बताइएको छ।

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरेको हो।सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्