अदालतमा सन्दीपको बयान, थुनछेकको टुंगो भोलिमात्रै
काठमाडौं, कार्तिक १५ । जिल्ला अदालत काठमाडौंमा सन्दीप लामिछानेको बयान गराइएको छ।
सोमबार अभियोजन पत्र दायर भएसँगै मंगलबारबाट उनको मुद्दामा सुनुवाई सुरु भएको हो।जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको हो।
पहिलो दिन सोमबार उनको बयान गराइएको छ। लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नेकी थुनाबाहिर भन्ने निर्णय भने मंगलबार मात्रै हुने भएको छ। अदालतले सन्दीप पक्षका कानुन व्यवसायीलाई मंगलबार मात्रै आए हुन्छ भनेको छ।
‘आज बयान मात्रै भयो, हाम्रो पालो भोलि छ, हामीलाई अदालतले नै भोलि मात्रै आए हुन्छ भनेकाले आज हाम्रो बहस भएन’, सन्दीप पक्षका एक कानुन व्यवसायीले भने।
बलात्कार आरोपमा १० देखि १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। यस्तै ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनु पर्ने अभियोग पत्रमा माग छ।एक नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका हुन्।
यसैबीच यसअघि जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीसामु भने सन्दीपले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। आफूले बलात्कार नगरेको सन्दीपको जिकिर छ। यस्तै पीडित भनिएकी किशोरी पनि नाबालिग नभएको उनको पक्षको दाबी छ।
किशोरीको नागरिकता अनुसार १८ वर्ष मात्रै पुगेको देखिए पनि वास्तविक उमेर भने १९ वर्ष रहेको सन्दीप र उनका कानुन व्यवसायीको दाबी छ।
तत्काल प्राप्त प्रमाणबाट सन्दीप निर्दोष भन्न सकिने अवस्था अदालतले नदेखेमा उनलाई कारागार पठाउने आदेश हुनेछ।














प्रतिक्रिया दिनुहोस्