७ करोड थान मतपत्र छापियो, १ करोड छाप्न बाँकी

काठमाडौं, कार्तिक १४ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्ने ८ करोडमध्ये १ करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी रहेको बताएको छ।

दुवै प्रणालीतर्फ गरी करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबार दिउँसोसम्म करिब ७ करोड मतपत्र छपाइ भइसकेको आयोगले जनाएको हो।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २ करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ। अब करिब १ करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ।

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ छपाइ भइसकेका मतपत्रमध्ये १ करोड २९ लाख ५३ हजार ५०० प्रदेशसभा र १ करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाका लागि रहेका छन्।

आयोगले छपाइसँगै ढुवानी पनि गरिरहेको छ। मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सोमबारसम्म १६ वटा जिल्लामा मतपत्र ढुवानी भएको छ। ढुवानी भएका जिल्लामा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालीकोट, दैलेख र सुर्खेत छन्। हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुराका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ।

आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित मतपत्र प्रयोग गर्ने भएकाले यो पटक निर्वाचन क्षेत्र अनुसार फरक–फरक मतपत्र प्रयोग हुनेछ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैभर एउटै मतपत्र प्रयोग हुनेछ। प्रदेशसभाका लागि भने प्रदेशमा कायम रहेका दलको संख्याअनुसार फरक–फरक मतपत्र प्रयोग हुनेछ।

प्रतिक्रिया दिनुहोस्