नेकपा एसद्वारा घोषणा पत्र सार्वजनिक: आत्मनिर्भर अर्थतन्त्रदेखि निर्वाचन प्रणाली सुधारसम्म (पूर्णपाठ)
काठमाडौं, कार्तिक १४ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीले निर्वाचन प्रणाली सुधारलाई पनि आफ्नो चुनावी एजेण्डा बनाएको छ ।
‘
हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्,’ समाजवादीको घोषणापत्रमा उल्लेख छ ।
नेकपा एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले सुशासन र पारदशीताको लागि घरदैलोमै प्रभावकारी सेवा दिनुपर्ने बताएको छ । ‘भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अंगहरूको कार्य सम्पादन गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ, ‘संघीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने, छिटो, छरितो र समय सीमाभित्र विकास निर्माणलगायत सबै काम सम्पन्न गर्ने प्रणालीको विकास गर्ने हाम्रो दृढप्रतिज्ञा छ । हामी यी प्रतिज्ञामा सधै अडिग रहने छौँ ।’
समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवं व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधी लगायतका सेवा क्षेत्रको विकास एवं विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने मुख्य आर्थिक कार्यभार अघि सारेको छ ।
‘हामी वर्तमान नेपाली समाजमा व्यापक रूपले आर्थिक–सामाजिक रूपान्तरणका अभियान सञ्चालन गरेर समाजवादका आधार निर्माण गर्नुपर्दछ भन्ने पक्षमा छौँ । द्रुततर आर्थिक विकाससहितको समृद्धिको यात्राबाट अगाडि बढेर मात्रै समाजवादको लक्ष्य प्राप्त गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ । यसलागि पनि हामीलाई जनताको साथ अवश्य प्राप्त हुनेछ,’ घोषणापत्रमा उल्लेख छ । सो पार्टीले आफ्नो घोषणापत्रमा नेपालका ठुला नदी तथा तालहरुमा पर्यटक लक्षित साना पानी जहाज सञ्चालन गर्ने उल्लेख गरेको छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको ‘नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन’लाई नेकपा एकीकृत समाजवादीले पनि एजेण्डा बनाएको छ । सो पार्टीले आफ्नो घोषणापत्रमा भनेको छ, ‘भूपरिवेष्ठित मुलुकहरुले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका लागि पहल गरिने छ ।’















प्रतिक्रिया दिनुहोस्