पीएम कप क्रिकेट: पुलिस क्लबको लगातार दोस्रो जित
काठमाडौं, कार्तिक १४ । जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
पुलिस क्लबले सोमबार प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो । प्रदेश १ ले दिएको १०३ रनको लक्ष्य पछाएको पुलिस क्लबले १४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
पुलिसको जितमा कुशल भुर्तेलले सर्बाधिक ४२ रन बनाए भने शंकर रानाले २९, दिपेन्द्र सिंह ऐरीले अविजित १४ र रशिद खानले अविजित १६ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको प्रदेश १ ले ३५.१ ओभरमा अल आउट हुदै १०२ रन बनाएको थियो । प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित राजबंशीले ५ विकेट लिएका थिए । त्यस्तै सगर ढकाल र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए ।
आइतबार बागमती प्रदेशलाई पराजित गरेको विभागीय टिम पुलिसले योसहित लगातार दोस्रो जित हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्