सत्तागठबन्धनमा प्रतिनिधिसभाका तीन र प्रदेशका ११ क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा
काठमाडौं, कार्तिक १३ । सत्तागठबन्धनमा आबद्ध दलहरूले प्रतिनिधिसभाका तीन र प्रदेश सभाका ११ क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । उनीहरूबीच मित्रवत् प्रतिस्पर्धा हुने क्षेत्रमा एक–आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल जारी गर्दै उम्मेदवारको सूची सार्वजनिक गरेका हुन् ।
अनेक प्रयास गर्दा पनि सहमति नजुटेपछि मित्रवत् प्रतिस्पर्धाको बाटो खुला गरिएको जनमोर्चाका अध्यक्ष केसीले जानकारी दिए । उनले भने, ‘तीन महिनासम्म प्रयास गर्दा पनि नमिलेपछि प्रतिस्पर्धा गर्न बाटो खुला गरिएको हो । नेताको व्यवस्थापनको विषयलाई दलहरूले अगाडि सारे । मित्रवत् प्रतिस्पर्धाको समझदारी बनेको हो ।’ उनका अनुसार गठबन्धनका उम्मेदवारलाई मत दिन गठबन्धनभित्रका अन्य दल स्वतन्त्र हुनेछन् । ‘गठबन्धनभित्रैका उम्मेदवारलाई मत दिने भन्ने हो ।
गठबन्धनभित्रका कुन उम्मेदवारलाई मत दिने भन्ने स्वतन्त्रता गठबन्धनका अन्य दललाई रहन्छ,’ उनले भने । धनुषा २, सर्लाही २ र काठमाडौं १० मा गठबन्धन दलहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएको छ । धनुषा २ मा गठबन्धनबाट कांग्रेसका रामकृष्ण यादव र एकीकृत समाजवादीका रामचन्द्र झा उम्मेदवार छन् । दुवै पूर्वमन्त्री हुन् ।
सर्लाही २ मा माओवादीको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव गठबन्धनबाट प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि प्रतिस्पर्धामा छन् । यादव र महतो दुवै पूर्वमन्त्री हुन् । काठमाडौं १० मा कांग्रेस र माओवादी उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट राजेन्द्र केसी र माओवादीबाट अञ्जना विशंखे उम्मेदवार छन् । केसी पूर्वमन्त्री र विशंखे पूर्वसांसद हुन्
प्रदेशका ११ क्षेत्र जहाँ हुनेछ प्रतिस्पर्धा
सर्लाही १ (क)मा माओवादी र लोसपाबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । माओवादीबाट रामचन्द्रसिंह कुसवाह र लोसपाका उपेन्द्र महतो उम्मेदवार छन् । बारा १ (ख)मा कांग्रेस र एकीकृत समाजवादीबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसबाट नागेन्द्रप्रसाद कानु र एकीकृत समाजवादीबाट बतहु यादव उम्मेदवार छन् । पर्सा ३ (ख)मा पनि कांग्रेस र एकीकृत समाजवादीबीच नै मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । यहाँ कांग्रेसका जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी उम्मेदवार छन् ।
काठमाडौं ३ (ख)मा कांग्रेस र माओवादीबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । यहाँ कांग्रेसका विमल ठकुरी र माओवादीका महेश्वर फुँयाल उमेदवार छन् । काठमाडौं ५ (ख)मा पनि कांग्रेस र एकीकृत समाजवादीबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । यहाँ कांग्रेसका श्यामबहादुर खड्का र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ उम्मेदवार छन् ।
काठमाडौं ६ (ख)मा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ कांग्रेसका विष्णुभक्त तिमल्सिना र माओवादीका प्रकाश फुँयाल प्रतिस्पर्धामा छन् ।काठमाडौं १० (क)मा कांग्रेस र माओवादी उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसका पुकार महर्जन र माओवादीका दिलीप महर्जन प्रतिस्पर्र्धामा छन् । बाँके २ (क)मा कांग्रेस र एकीकृत समाजवादीबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । यहाँ कांग्रेसका राजकुमार बर्मा र एकीकृत समाजवादीका समसुद्दिन सिद्दिकी उमेदवार छन् ।
बाँके २ (ख)मा कांग्रेस र माओवादीबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । यहाँ कांग्रेसका सुरेन्द्र हमाल र माओवादीका अक्कलबहादुर बम उमेदवार छन् । कञ्चनपुर २ (ख)मा पनि कांग्रेस र एकीकृत समाजवादीबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । यहाँ कांग्रेसका बहादुरसिंह थापा र एकीकृत समाजवादीका लालबहादुर खड्का उमेदवार छन् ।
कञ्चनपुर ३ (क)मा माओवादी र एकीकृत समाजवादीबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । यहाँ माओवादीका टेकेन्द्रप्रसाद भट्ट र एकीकृत समाजवादीका प्रकाश रावल उम्मेदवार छन् ।
यी हुन् टुंगिन बाँकी प्रदेशका आठ क्षेत्र
सत्तागठबन्धनबीच प्रदेशका आठ क्षेत्र टुंगिन बाँकी छ । यी क्षेत्रमा छलफलबाट विवाद सुल्झाउने दाबी शीर्ष नेताहरूको छ । गठबन्धनबाट दोहोरो उम्मेदवारी परेका क्षेत्रमा बाजुरा (क) मा एकीकृत समाजवादीका नरेश शाही र माओवादीका कर्णबहादुर विश्वकर्मा प्रतिस्पर्धामा छन् । सुर्खेत २ (क)मा कांग्रेसका कालीप्रसाद शाक्य र एकीकृत समाजवादीका शिवप्रसाद उपाध्याय प्रतिस्पर्धामा छन् ।
सुर्खेत २ (ख)मा माओवादीका विन्दमान विष्ट र एकीकृत समाजवादीका मोहन बडुवाल प्रतिस्पर्धामा छन् । हुम्ला (क)मा माओवादीका रनसिंह परियार र एकीकृत समाजवादीका हस्तबहादुर शाही प्रतिस्पर्धामा छन् । कपिलवस्तु १ (ख)मा कांग्रेसका सहसराम यादव र एकीकृत समाजवादीका फजलुर खान प्रतिस्पर्धामा छन् । स्याङ्जा २ (ख)मा कांग्रेसका भोजराज अर्याल र एकीकृत समाजवादीका रामचन्द्र भट्टराई प्रतिस्पर्धामा छन् । महोत्तरी २ (क)मा एकीकृत समाजवादीकी मञ्जु यादव र लोसपाका जयनुल राइन प्रतिस्पर्धामा छन् । सिराहा ३ (ख)मा कांग्रेसका सञ्जयप्रकाश यादव र एकीकृत समाजवादीका प्रमोद यादव प्रतिस्पर्धामा छन् ।















प्रतिक्रिया दिनुहोस्