एमालेको चुनावी सभा दार्चुलाबाट, एकै दिन तीन जिल्लामा आमसभा

काठमाडौं, कार्तिक ८ ।  आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रव्यापी चुनावी अभियानको तय गरेको छ । एमालेले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी आमसभा शुरू गर्ने भएको छ ।

राष्ट्रव्यापी चुनावी अभियान शुरू गर्न कात्तिक १८ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दार्चुला पुग्ने भएका छन् ।
दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । त्यसै दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन् ।

आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेण्डालाई महत्वपूर्ण क्रेडिटको रूपमा चुनावी मिसन बनाउने संकेत देखिएको छ ।

‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो’ एमाले प्रदेश सचिव धर्म पाठकले भने, ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन नेपालाई फिर्ता गर्नुपर्छ ।’ पाठकका अनुसार एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने छ ।

भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको छ’ उनले भने ‘अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ ।’

प्रतिक्रिया दिनुहोस्