सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं, कार्तिक ६ । काठमाडौं जिल्ला अदालतले १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रहरी वृत्त गौशालाले सन्दीपमाथि लागेको आरोपको अनुसन्धान नसकिएको बताएर थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेकामा दुई थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।
सन्दीपविरुद्धको अनुसन्धान सकिएपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष प्रतिवेदन पेस गर्नेछ। त्यसपछि थुनछेकको बहस सुरु हुनेछ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलो पटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो। दोस्रो पटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो । गत बुधबार उनलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि ५ भदौमा काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप छ। प्रहरी वृत्त गौशालामा २१ भदौमा उनीविरुद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो।
प्रतिक्रिया दिनुहोस्