सन्दीपविरुद्धको मुद्दामा १२ वर्ष कैद माग, थुनछेक बहस तिहारपछि
काठमाडौँ , कार्तिक ६ । निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ । शुक्रबार अपराह्न अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपाका अनुसार
प्रहरीले शुक्रबार अन्तिम समयमा प्रतिवेदन बुझाएको हो । उनले भने,‘ हामीले हेर्न भ्याएको छैन’,तिहार बिदाअघि मुद्दा दर्ताको सम्भावना कम छ।’
सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ। कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो।
प्रहरी प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोजना पत्र दायर गर्ने छ। त्यसपछि अदालतले सन्दीपको बयान गराउने र थुनछेक बहस हुनेछ। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिन सक्ने ठहर गरेमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने छ।
मुद्दामा अन्य प्रमाण नभए पनि पीडितको उमेर १८ वर्षभन्दा कम भएकाले सन्दीप दोषी ठहर हुने सम्भावना रहेको अनुसन्धान अधिकारीले बताए। प्रहरीले १८ वर्षभन्दा कम रहेको प्रमाणका रुपमा किशोरीको नागरिकता बुझाएको छ।
यसअघि सन्दीप र उनका वकिलले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको र जन्मदर्ता तथा बसाइँ सराइको कागजातमा १९ वर्षकी किशोरी भएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छन्। उनीहरुले समेत उमेरलाई नै जोड दिएर प्रमाण पेस गर्ने सम्भावना छ।
छुट्टाछुट्टै उमेर भन्ने प्रमाण पेस भएपछि अदालतले केलाई आधार मान्ने भन्ने कुराले सन्दीपविरुद्धको कसुरमा अर्थ राख्नेछ। १८ वर्षभन्दा कम उमेर ठहर भएमा सहमतीमै करणी भए पनि जबरजस्ती करणी मानिने कानुनी व्यवस्था छ।
सन्दीपविरुद्धको मुद्दा अदालतमा कात्तिक १४ गते मात्रै दर्ता हुने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्