शीर्ष नेता भन्छनः गठबन्धनलाई हार्ने छुट छैन
काठमाडौं, कार्तिक ४ । सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन्। गठबन्धन दलहरुको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताहरुले यस्तो बताएका हुन् ।
संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यो वा त्यो बहानामा गठबन्धनलाई हार्ने छुट नभएको बताए। ‘प्रजातन्त्र बचाई राख्नका लागि, लोकतन्त्रका लागि गठबन्धनले जित्नुपर्छ। यसपटक हामीलाई हार्ने छुट छैन,’ उनले भने। उनले गठबन्धनको सरकार बनेपछि अहिले अवसर नपाएकाले अवसर पाउने पनि बताए।
कांग्रेस सभापति देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे। गठबन्धन आजको आवश्यक्ता भएको उनको भनाइ रहेको थियो ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले पनि गठबन्धनलाई हार्ने छुट नभएको र त्यसमा पनि गण्डकी प्रदेशमा त झन् त्यो हुनै नहुने बताए। असन्तुष्टी हुनु स्वाभाविक भएपनि मत नै नहाल्ने, बिरुद्धमा जाने स्थिति बनाउन नहुनेमा उनले जोड दिए । उनले अर्को दलको निर्वाचन चिह्न स्वीकार गर्न गाह्रो नमान्न नेता कार्यकर्तालाई आग्रह गरे।
आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुने बताउँदै उनले भने, ‘हँसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं’, तर हामीले गठबन्धन गर्दा नै सबै चुनाव चिह्न स्वीकार गरेका हौं। आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गण्डकी प्रदेशलाई बाम लोकतान्त्रिक गठबन्धनका किल्ला बनाउन आग्रह गरे। गठबन्धनका दललाई भोट नहाल्दा विपक्षीले जित्ने खतरा हुनेतर्फ सचेत रहन आग्रह गर्दै जित्नेगरी लाग्न सुझाव दिए । गठबन्धनलाई जिताएमात्र गणतन्त्र, संविधानलगायतका प्राप्त उपलब्धीको रक्षा हुने उनको भनाइ रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्