सन्दीपमाथि थप अनुसन्धानका लागि चार दिन म्याद थपियो
काठमाडौं, कार्तिक २ । सन्दीप लामिछानेविरुद्ध थप अनुसन्धान गर्न तेस्रोपटक चार दिनको म्याद थपिएको छ ।
बुधबार जिल्ला अदालत काठमाडौंले सन्दीपमाथि थप छानबिन गर्न चार दिनको म्याद थपेको हो ।
सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिएको हो ।प्रहरी वृत्त, गौशालाबाट उनीविरुद्धको मुद्दाको अनुसन्धान अगाडि बढाइएको छ ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो ।
उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।
प्रतिक्रिया दिनुहोस्