आम निर्वाचन: मतप्रति सशंकित शीर्ष नेतृत्व
काठमाडौं, कार्तिक २ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चुनावी नतिजाबारे सशंकित देखिन थालेका छन् । चुनावमा कांग्रेसका मतदाताले आफूहरुलाई भोट हाल्छन् वा हाल्दैनन् भन्ने विषयमा उनीहरुमा शंका बढेको हो ।
नेपाली कांग्रेसभित्रका शेखर कोईराला पक्ष र टिकट नपाएका असन्तुष्टहरुको समूहले हसियाँ हथौडा र कलम चिन्हमा भोट नहाल्ने सम्भावना बढेको भन्दै उनीहरुले पूर्वाग्रह नराखी अघि जानुपर्ने बताएका हुन् ।
‘हँसिया हथौडाले रूखमा कसरी भोट हाल्ने, रूखले हँसिया हथौडामा कसरी भोट हाल्ने ? अहिले यस्तो आग्रह–पूर्वाग्रह हुने गरेको कुरा सुनेको छु तर यो अर्थहीन छ,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने , ‘म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु– हामीले धेरै पहिले नै रूख र हँसिया हथौडालाई एक बनाइसकेका हौं । जतिबेला हामीले शान्ति सम्झौता गर्यौं, त्यो बेला सात दलका तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले हस्ताक्षर गरेको थिएँ । त्यो भनेकै मैले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप हाने बराबर हो ।’ उनले गठबन्धनमा प्रतिबद्ध भएर लाग्न सबै मतदाता र शुभेच्छुकलाई अपिल पनि गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि पटक पटक गठबन्धनका दलले एकअर्काप्रति जिम्मेवार भएर भोट हाल्न अनुरोध गर्दै आईरहेका छन् । उनले गठबन्धनभित्र रहेका दलप्रति अविश्वास नगर्न र गठबन्धनकै उम्मेद्वारलाई जिताउन पनि अपिल गरेका छन् । उनले भनेका छन्, ‘हामी सहकार्य गर्न सक्छौँ । धेरै ठाउँमा जित्न सक्छौँ भनेपछि यो सत्ता गठबन्धनको बारेमा विपक्षीले भ्रम फैलाउन थालेका छन् । विपक्षीको अनेक कुरालाई खण्डन गर्नुपर्छ । गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक भनेर प्रश्न गरेमा हामीले काउण्टर दिनुपर्छ ।’
नेपाल र दाहालको अविश्वासलाई लक्षित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका दललाई अविश्वास नगर्न कार्यकर्तालाई अपिल गरेका छन् । ‘हँसिया हतौडामा मै मत हाल्दैछु । संविधान र लोकतन्त्र जोगाउन हँसिया हतौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसिया हतौडा र कलममा मत हाल्नुस्, कांग्रेसका साथीहरुले अविश्वास गर्ने काम नै छैन । आजको दिनमा हँसिया हथौडा, कलम र रूख एकै हो’ उनले भने । संविधान र लोकतन्त्रको रक्षाका निम्ति बनेको गठबन्धनलाई जिताएर प्रतिगमन परास्त गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
तर, नेपाली कांग्रेसभित्र असन्तुष्ट रहेका शेखर कोईरालाले आफू र देउवाबीच कुनै असहमझदारी नरहेको भन्दै कार्यकर्ताबीच विवाद नबढाउन अपिल समेत गरिसकेका छन् । स्थानीय निर्वाचनमा धेरै ठाउँमा कांग्रेसका मतदाताले विपक्षीलाई मतदान गरेपछि प्रचण्ड र माधवको डर बढेको हो ।
सत्तागठबन्धनको संयुक्त अपिल
सत्ता गठबन्धनमा रहेका दलहरुले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारीमै गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन् गर्न र गठबन्धनलाई अत्यधिक बहुमतसहित जिताउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
तीन दलको संयुक्त अपिलमा भनिएको छ, ‘नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्ध रहेका छौं । लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रस्ट वैचारिक धरातल र सहकार्यको आधार हो ।’
दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्मविपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटनलगायत तत्कालीन सरकार प्रमुखको अनेकौं स्वेच्छाचारी कदमहरुलाई परास्त गर्न र संविधानको रक्षा गर्न अहिलेको सत्ता गठबन्धन बनेको र निरन्तरता आवश्यक रहेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्