प्रचण्डको आरोप : राजावादी र देश विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन देखियो

काठमाडौं, कार्तिक १ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन बनेको आरोप लगाएका छन् ।

चुनावी तालमेल हो मात्रै भनेपछि प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको प्रचण्डले आरोप लगाए ।

ललितपुरमा कांग्रेस नेतृत्वको चुनावी गठबन्धनको कार्यक्रममा मंगलबार प्रचण्डले भने, ‘हाम्रो त गठबन्धन होइन, तालमेल मात्रै हो भनेर विपक्षीले भन्ने गरेका छन्, तर त्यो गठबन्धन नै हो । राजावादीहरू, अलगाववादीहरू, देशलाई विखण्डन गर्न चाहने तत्त्वहरू; प्रतिगमनकारीहरूको गठबन्धन प्रष्ट देखिएको छ ।’

प्रचण्डले थपे, ‘कस्ता अनुहारहरू छन्, कस्ता भाषा बोल्छन् तिनीहरूको गठबन्धन । हाम्रो क्लियर छ, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, समानुपातिक, समावेशी मान्यतासहित संघीयताको रक्षा गर्ने क्लियर उद्देश्य छ । हामीले गठबन्धन बनाउँदै गर्दा प्रष्ट गरेका थियौं, गठबन्धन सरकार बनाउनको लागि मात्रै, सत्ता प्राप्तको लागि मात्रै होइन ।’

मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी प्रवृत्ति र कसरत चलिरहेको दाबी गर्दै प्रचण्डले निर्वाचन पछि पनि गठबन्धन आवश्यक पर्ने बताए । उनले गठबन्धन निर्माण नगरेको भए संसद् विघटन भएपछि राजनीतिक समस्या उत्पन्न हुने अवस्था रहेको बताए । देशलाई निरंकुशता र अराजतकताको भूमरीमा हाल्ने प्रवृत्तिलाई पार्टी र संसदीय दलको नेताबाट निकालेको उनको भनाइ थियो । वैधानिक संस्थाका अवैधानिक सेटिङले माधवकुमार नेपाल र आफूलाई दुई ठाउँमा बनाइदिएको प्रचण्डको भनाइ थियो ।

‘यो एउटा सामान्य चुनाव होइन । संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, देशका सबै उत्पीडित जाति, वर्ग, क्षेत्र समुदायलाई समावेशी, समानुपातिकसहित स्थापित भएको, लोकतन्त्रको रक्षा गर्ने कि यसलाई उल्ट्याउन दिने भन्ने ठूलो लडाइँ जस्तो भएको छ,’ उनले भने, ‘हामी राजनीतिक ब्याटल लड्दैछौं । त्यसो त हामी ब्यालेटबाट लड्दैछौं । ब्यालेटबाट अग्रगमन र प्रतिगमनको ब्याटल लड्दैछौं । त्यसकारण यसलाई सामान्य नसोचियोस् भन्ने अपील गर्न चाहन्छु । यो राष्ट्रको एकता, लोकतन्त्रको परिवर्तनको रक्षासँग सम्बन्धित मुद्दा छ । हामी विजयी हुने कि प्रतिक्रान्तिकारी विजयी हुने भन्ने फैसला मंसिर ४ गते हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्