जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा
काठमाडौं , असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ ।
जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् ।
श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए।
‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रस्ताव बनिसकेको छ। शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय बिदा दिने निर्णय भएको छ,’ उनले भने।
जोशीको पार्थिव शरीरलाई अहिले अस्पताल परिसरमै राखिएको छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको चिरकालसम्म सम्झना रहने गरी सरकारले योजना बनाएर काम गर्ने बताएका छन् ।
संस्कृतिविद् जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो बताएका हुन् । श्रद्धाञ्जली अर्पणका लागि उनी ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका थिए ।














प्रतिक्रिया दिनुहोस्