कांग्रेसले संशोधनसहित पारित गर्यो घोषणापत्र
काठमाडौं, असोज २८ । नेपाली कांग्रेसले आगामी संसदीय चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समतिका प्रवक्तासमेत रहेका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । कांग्रेसले तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारका गतिविधिलाई मुख्य चुनावी मुद्दा बनाएको सहमहामन्त्री जीवन परियारले बताए ।
अर्थशास्त्री स्वर्णीम वाग्ले र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेललगायतका विज्ञहरूले तयार पारेको घोषणापत्रमा ‘आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र’ समेटिएको पनि सहमहामन्त्री परियारले बताए ।
घोषणापत्रको पहिलो खण्डमा राजनीतिक मुद्दाबारे धारणा रहेको छ । त्यस्तै दोस्रो खण्डमा ५ वर्षको मार्गचित्र ‘समुन्नत नेपाल’ कसरी बनाउने भन्ने एजेन्डा समावेश भएको छ ।
कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । महामन्त्री शर्माले घोषणापत्र लेखनमा नेपाली समाजको प्रतिनिधित्व झल्किने गरी विज्ञ समूह तयार गरेका छन् । समितिमा कवि श्रवण मुकारुङदेखि क्रिकेटर विनोद दाससम्म समेटिएका छन् ।
समितिमा चलचित्र निर्देशक मीन भाम, कृषि विज्ञ सन्जय महत्तो, समाजशास्त्री दिपेश घिमिरे, मधेशी महिलाको प्रतिनिधित्व गर्दै प्रिति मण्डल, कर्णालीको प्रतिनिधित्व गर्दै रंगमति शाही, फस्ट टाइम भोटरको प्रतिनिधित्व गर्दै विकल राई, सामाजिक रुपान्तरणको मुद्धाको प्रतिनिधित्व गर्दै अनुसन्धानकर्ता प्रकाश लामिछाने समेत सदस्य छन् ।
प्रारम्भिक मस्यौदा तयारीका लागि अर्थशास्त्री स्वर्णिम वाग्ले नेतृत्वको छ सदस्यीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो । समितिमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्ष्णप्रसाद पौडेल, दिपेश घिमिरे र प्रिति मण्डल सदस्य छन् ।















प्रतिक्रिया दिनुहोस्