ओलीप्रति आक्रामक रावल: आफ्नो राजनीति सिध्याउनकै लागि टिकट नदिइएको आरोप

काठमाडौं, असोज २७ । एमाले नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन् ।

रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम १ बाट टिकट नदिइएको आरोप लगाए । उनले स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा एमाले बनाउन कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिएको भन्दै उनले आक्रोश व्यक्त गरे। नेता रावलले झन्डै दुई तिहाइका प्रधानमन्त्री भएका बेला ओलीले अधिकांश समय बालुवाटारकै अस्पतालमा बिताएको, राष्ट्रहित र संवेदनशील विषयमा संसदमा उपस्थित नहुने, आफूलाई बोल्न चाहेको समयमा अरुलाई उर्दी जारी गर्ने भन्दै ओलीको तिखो आलोचना गरे ।  त्यस्तैनेता डा. भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निरंकुश र स्वेच्छाचारी भनेका छन्।

अछाम क्षेत्र नम्बर १ मा स्थानीय कमिटीले सिफारिस गर्दा पनि आफूलाई टिकट नदिएको विषयमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘मेरो उम्मेदवारी स्थानीय कमिटीले सर्वसम्मत सिफारिस गर्दा पनि टिकट दिइएन। केपी ओलीले गरेको निर्णय निरंकुश र स्वेच्छाचारी छ’, उनले भने, ‘षड्यन्त्रपूर्ण र स्वेच्छाचारी निर्णय गरे केपी ओलीले मलाई रोक्न खोजे। घरमा आएका नेताहरुलाई पनि मैले चुनाव लड्न तयार रहेको बताएको थिएँ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेलामा मन्तव्य दिएको थिएँ। पार्टी कार्यक्रममा संलग्न भएकै बेला म सम्पर्कविहीन भनियो। अन्तिममा टिकट पनि रोकियो।’

उनले अछामबाट टिकट सिफारिस भएपछि पार्टी अध्यक्ष ओलीको घरमा भीम रावलको नाम किन एकल सिफारिस गरेको भनेर छलफल भएको पनि उल्लेख गरे।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले मलाई रोक्न अनेक षड्यन्त्र गरे। अछाम क्षेत्र नम्बर २ का उम्मेदवारबारे छलफल गरिएन तर मेरोबारे पटक पटक गुटमा छलफल भयो’, उनले भने, ‘पार्टीमा गुटगत बैठक गरी मलाई रोक्न षड्यन्त्र रोकियो। मलाई उम्मेदवारी नदिने भन्ने कुरा मैले थाहा पाएँ. अध्यक्ष ओलीनिकट मान्छेहरुबाट मलाई हराउन नसकिने निष्कर्ष पाएपछि मलाई टिकटमै रोकियो।’

आफूलाई टिकट नदिएर रोक्नु कार्यकर्ताका भावना कुल्चने षड्यन्त्रपूर्ण कदम भएको उनले बताए। ‘मलाई टिकट नदिएपछि मनोनयन पत्र दाखिला गर्ने दिन नारा जुलुस भयो’, उनले भने, ‘देश र जनाताको हित स्वाधिनता स्वाभिमान न्याय र सुशासनको पक्षमा मैले उठाएको आवाजको साथ दिनेलाई धन्यवाद।’

उनले नेकपा एमाले निश्चित सिद्धान्त र विधिका आधारमा चल्दै आएको बताए। ‘यही आधारमा उम्मेदवार छनोट गर्नुपर्ने हो। युनिफिकेसन चर्चसँग जोडिएका एकनाथ ढकाललाई टिकट दिने तर राष्ट्रियतको पक्षमा बोल्ने हामीलाई नदिने’, उनले भने, ‘संविधान दिवसलाई कालो दिवस भन्नेसँग तालमेल गरियो। जसले राजबिराजमा केपी ओलीको हत्या प्रयास गरेका थिए उनैसँग तालमेल गरेर कहाँ पुगिन्छ?’

रावलले होलीवाइनको कार्यक्रम आयोजना गर्ने एकनाथ ढकाललाई एमालेको समानुपातिक सूचीमा राखेको, एमालेकै नेतामाथि हत्या गर्ने उद्देश्यले राजविराजमा आक्रमण गर्न लगाउने, संविधान जारी गरेको विरोधमा कालो दिवस मनाउने उपेन्द्र यादवसँग चुनावी तालमेल गरेको तथा पूर्वपञ्चलाई मकवानपुर १ मा सिट छाडेको भन्दै ओलीको कडा आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्