राजनीतिक दल र उम्मेदवारको मत सर्वेक्षण गर्न नपाइने

काठमाडौं, असोज २७ ।  निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट गरेको छ ।

विहिबार आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको पाइएकोले निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत सामाजिक सञ्जालको प्रयोग गरेर मत सर्वेक्षण गर्न नपाइने जनाएको छ ।

आयोगले भनेको छ-

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ । साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।’

आयोगले उपरोक्त व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्