कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आयोः महामन्त्री थापा

काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले नेपाली कांग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे ।

उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु निर्वाचनको गोलचक्करमा मात्रै सिमित भएको दावी गरे ।

पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको उनको भनाइ रहेको छ ।

अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको समेत उनले सुनाए । उनले युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर्ने शासह थपिएको भन्दै युवाहरुलाई निराश नबनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

महामन्त्री थापाले देशको आजको सबैभन्दा ठूलो मुद्दा नेपालका युवाहरुले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने उल्लेख गरे ।

उनले वर्तमान अवस्थामा नेपालको राजनीतिको प्राथमिकतामा चुनाव लड्ने, जित्ने र सरकार बनाउने कुरामा मात्रै सीमित भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्