एक सातामा कति कमायो  ‘प्रेमगीत ३’ ले ?

काठमाडौं, असोज १४ । गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘प्रेमगीत ३’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

निर्माता तथा निर्देशक सन्तोष सेनले फेसबुकमार्फत एक साताको कमाइ सार्वजनिक गरेका छन्। उनका अनुसार फिल्मले नेपालमा ७ करोड ९६ लाख रुपैयाँ कमाएको छ।

यो फिल्मले नेपालमा २ करोड ५ लाखमा ओपनिङ गरेको थियो। फिल्मले दोस्रो दिन शनिबार २ करोड २२ लाख, तेस्रो दिन आइतबार ९५ लाख ५० हजार, चौथो दिन सोमबार १ करोड १५ लाख, पाँचौँ दिन मंगलबार ६५ लाख, छैटौँ दिन बुधबार ६१ लाख र सातौँ दिन बिहीबार ५३ लाख कमाइ गरेको छ।

नेपालमा सोमबारदेखि नेपाली र हिन्दी संस्करणमा प्रदर्शन भइरहेको छ। दुवै भाषामा गरी फिल्मले उक्त कमाइ गरेको हो।यो फिल्मले भारतमा ३ करोड ४४ लाख कमाइ गरेको सेनले उल्लेख गरेका छन्।

भारतमा फिल्मले १ करोड १२ लाखको ओपनिङ गरेको थियो। फिल्मले शनिबार ८३ लाख, आइतबार ६४ लाख ९० हजार, सोमबार ३२ लाख २९ हजार, मंगलबार २२ लाख १७ हजार, बुधबार १७ लाख ३० हजार र बिहीबार १२ लाख १० हजार कमाएको छ।त्यस्तै फिल्मले नेपाल र भारतबाहेक अन्य ठाउँमा ६ करोड २१ लाख कमाएको छ।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्