गठबन्धन सरकारको कुनै गन्तव्य छैनः ईश्वर पोखरेल

काठमाडौं, असोज १४ ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए। उनले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन आग्रह गरे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने (प्यारालाइसिस) को अवस्थामा रहेको बताए। आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उनको भनाइ छ।

उनले तथ्य भन्दा फरक ढंगका समाचार सामग्री सार्वजनिक हुँदा समाजमा भ्रम फैलिरहेको बताए। अहिले देशको विद्रुप रुप देखा परिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्