गठबन्धनको आडमा पार्टीभित्र सही मूल्यांकन नभए अवस्था गम्भीर हुन्छ : नेता केसी

काठमाडौं, असोज १३ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्ताे परिस्थितिमा कांग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिए।

‘गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निष्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण दायित्व हो। गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामीभित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ। अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ,’ उनले भने।

नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्