कांग्रेस मुख्यालयमा शेखर समूहको धर्ना, विवाद उत्कर्षमा
काठमाडौं, असोज १२ । नेपाली कांग्रेसमा समानुपातिकतर्फका उमेदवारको बन्दसूचीको विवाद उत्कर्षमा पुगेको छ ।
निर्वाचनमा समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस शेखर कोइराला समूहले धर्ना सुरु गरेको छ। नेता डा। शेखर कोइराला पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीमा मनोमानी गरेको र बन्दसूचीमा सल्लाह नै नगरी नाम पठाएको संस्थापनइतरको आरोप छ । शेखर समूहले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग अघि सारेको छ । आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ ।
यता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति शेरबहादुर देउवाले डाकेर शेखर पक्षसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । देउवाले समानुपातिकतर्फको बन्दसूची सच्याउन र सबैलाई समेट्न तयार रहेको भन्दै बैठक डाकेका हुन् ।
तर, शेखर पक्ष आश्वस्त हुन सकेको छैन । त्यसैले बालुवाटारको बैठकमा वार्ता जारी रहँदा पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरिएको छ । धर्नामा नाराबाजी र प्लेकार्ड प्रदर्शन गरिएको छैन । नेताहरू शान्त भएर धर्नामा बसेका छन् ।
नेता गुरुराज घिमिरेले आफूहरू पार्टीको विरुद्धमा नभएको भन्दै न्यायका लागि धर्ना बस्दा प्लेकार्ड र नाराको प्रयोग नगरेको बताए ।
प्रतिक्रिया दिनुहोस्