निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने

काठमाडौं, असोज ११ । निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ ।

निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । संघ र प्रदेशको आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आचारसंहिता लागू गरिने आयोजले जनाएको छ ।

मंगलबार बसेको आयोगको बैठकले आचारसंहिताबारे निर्णय गरेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

प्रमुख आयुक्त थपलियाले आचारसंहिता पालनालाई राजनीतिक दलहरुले कडाइका साथ पालना गर्ने विश्वास लिएको पनि बताएका छन्।

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ,’ थपलियाले भने, ‘आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु।’

दलहरुलाई २३ असोजमा उम्मेदवारको मनोनयन गर्ने कार्यसूची छ।२ र ३ असोजमा दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेका छन्।

आयोगले बन्दसूचीमा पेश गरिएको नाम सच्याउन १६ असोजसम्मको समय दिएको छ।यस्तै आयोगले चुनावसम्बन्धी कानुन तथा आचारसंहिता बमोजिम आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा उम्मेदवार र दलहरूले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य भइरहेको बताएको छ । खर्चको सीमा तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्