बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अन्तिम चरणको अभ्यासमा

काठमाडौं , असोज ९ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार फाइनल चरणको अभ्यास गरेको छ ।

आइतबार टिमले मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलकालागि चार गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरेका थिए ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम अभ्यासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रशिक्षक हुमागाईंले अभ्यास राम्रो भइरहेको र बंगलादेश पछिल्लो समय मजबुत बन्दै गएकाले बंगलादेशलाई पराजित गरेर नेपालीहरुको महान चाड दशैँको अग्रिह शुभकामना दिने लक्ष्यमा नेपाली राष्ट्रिय फुटबल टिम रहेको बताए ।

नेपाल र बंगलादेशबीचको खेल मंगलवार दशरथ रंगशालामा हुनेछ । खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम शुक्रवार नै नेपाल आइसकेको छ । दुवै टोली एकअर्कालाई हराएर विजयी बन्ने दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस्