कांग्रेसले सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने, तर शेखर कोइराला समूह आक्रमक

काठमाडौं , असोज ९ । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने भएको छ ।

प्रदेश संरचना अन्तर्गत पहिलोपटक निर्वाचन घोषणापत्र बनाउन लागिएको हो । मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताए ।

सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ सह(महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ । केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरि सात जनालाई जिम्मेवारी दिएको छ ।

सहमहामन्त्रीहरुमा प्रदेश १ मा महालक्ष्मी उपाध्याय ‘डिना’, मधेसमा भीष्मराज आङ्दम्बे, बागमतीमा महेन्द्र यादव, गण्डकीमा बद्री पाण्डे, लुम्बिनी प्रदेशमा जीवन परियार, कर्णालीमा फरमुल्लाह मन्सुरलाई जिम्मेवारी दिइएको छ । सुदूरपश्चिमका लागि केन्द्रीय सदस्य मीन विश्वकर्मालाई तोकिएको छ ।

प्रदेश सभापतिलाई घोषणापत्र तयार गर्नका लागि संयोजक र सदस्य मनोनित गर्ने अधिकार दिइएको छ । कांग्रेसले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउन महामन्त्री शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिति बनाएको छ ।

यता सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस निर्वाचनअघि विवादको भूमरीमा छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगमा पेस भएको समानुपातिकतर्फको बन्दसूचीले कांग्रेसमा विवाद चर्किएको हो। संस्थापन समूहले समानुपातिकको बन्दसूचीमा एकलौटी गरेको भन्दै शेखर कोइराला समूह आक्रमक बनेको छ।

शनिबार मात्रै खबरदारी सभा गरेर शेखर समूहले देउवा समूहलाई चेतावनी दिइसकेको छ। समानुपातिकतर्फ र प्रत्यक्षतर्फ ४०/४० प्रतिशत भाग दिनुपर्ने माग शेखर समूहको छ। ४० प्रतिशत भाग नदिए संघर्षमा उत्रने शेखर समूहको चेतावनी छ।

निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकतर्फको बन्दसूची सच्याएर आफूहरूलाई ४० प्रतिशतको ग्यारेन्टी गर्नुपर्ने देउवासँग शेखर समूहको माग छ। ४० प्रतिशत भाग आफूहरूलाई नदिए १ प्रतिशत पनि नचाहिने तर्क उक्त समूहले गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्