निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृत

काठमाडौं, असोज ९ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएकी छन्।

राष्ट्रपति भण्डारीले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी हुन्।

राष्ट्रिय सुरक्षा परिषद्को १७ भदौको सिफारिस र २७ भदौको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार राष्ट‍्रपतिले सेना परिचालनको स्वीकृति दिएकी हुन्।

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले सेना परिचालनको लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७’ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा सम्वत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ’ राष्ट्रपति कार्यालयका प्रवक्ता समिर आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्