आजदेखि लामो तथा छोटो दुरीका गाडीको यान्त्रिक परीक्षण अनिवार्य, लगाइयो यस्तो कडा नियम

काठमाडौं , असोज ९ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको जानकारी दिए । उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।

‘यान्त्रिक परीक्षणविना सवारी साधन चलाउन पाइँदैन,’ उनले भने, ‘यो नियम सबै प्रकारका सार्वजनिक सवारी साधन र भाडामा प्रयोग गरिएका निजी गाडीहरुमा आजैदेखि लागू हुने छ ।’ काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ ।

यसैगरी यात्रुको बिमा गरिएको हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ । त्यसका लागि यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश कार्यालयले आवश्यक व्यवस्था मिलाउनेछ।

यसैगरी जाँड रक्सी र लागुपदार्थ प्रयोग गरेर गाडी चलाउँदा पनि दुर्घटना बढेको भन्दै यसलाई नियन्त्रण गर्न आकस्मिक जाँच समेत हुनेछ । बढ्दो दुर्घटना न्यूनीकरण गर्न मन्त्रालयले यी नियम बनाएको हो।

प्रतिक्रिया दिनुहोस्