सिट बार्गेनिङ गर्न प्रचण्ड, नेपाल र यादवको मोर्चाबन्दी !
काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट पेचिलो बन्दै गएको छ । केहि सिटमा सहमति भएपनि महत्वपूर्ण निर्वाचन क्षेत्रहरुमा दुई वा दुईभन्दा बढी दलको दाबी कायमै रहेपछि सिट बाँडफाँट मिलन सकिरहेको छैन ।
यसैबीच काँग्रेसविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले मोर्चाबन्दी शुरु गरेका छन् ।
तिनै जना शुक्रबार छुट्टै बैठक बसेर काँग्रेसलाई थप लचिलो हुन दबाब दिने रणनीति बनाएको बुझिएको छ । अहिले काँग्रेसले १६५ सिट मध्ये १०० सिटमा आफ्नो दाबि गरिरहेको छ । तर तिनै दल काँग्रेसलाई ८० सिटको वरिपरी भन्दा बढी दिन नहुने अडानमा रहेका छन् ।
यस अघि गठबन्धनको बैठकमा करिब १०० सिटमा सहमति बनेको बताइएको थियो । तर काँग्रेस भित्रको आन्तरिक किचलो बढेको र गठबन्धनका दलहरुले आ-आफ्नो अडान नछोडेकाले सिट बाँडफाँट थप पेचिलो बनेको बुझिएको छ । काँग्रेसको शेखर कोइराला पक्षले १०० सिट भन्दा कम नलिन सभापति शेरबहादुर देउवालाई दबाब दिइरहेको छ । तर प्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने ९० सिटको आसपासमा गठबन्धनसँग सहमति गर्ने रणनिति बनाएको बुझिएको छ ।
त्यस्तै माओवादी केन्द्रले अहिले कम्तिमा ६० सिट पाउनु पर्ने अडान राखेको छ । त्यस्तै एकीकृत समाजवादी र जसपाले ४०-४० सिट पाउनु पर्ने अडानमा रहेका छन् ।
प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवार मनोनयन असोज २३ गते आइतबार हुने भएकाले गठबन्धनले सिट बाँडफाँट र उम्मेदवार तय गर्न अझै केहि समय लिने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्