राष्ट्रपतिबाट जानीजानी संविधान मिच्ने काम भयो : प्रचण्ड
काठमाडौं , असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले जानीजानी संविधान मिच्ने काम गरेको आरोप लगाएका छन्।
शुक्रबार राजधानीमा आयोजित अखिल नेपाल किसान महासंघको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहाले यस्तो बताएका हुन् । उनले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उलंघन गरेको बताए।
राष्ट्रपतिबाट हजारौंको बलिदानबाट, लाखौंलाख किसान ,मजदुर, उत्पीडितको आन्दोलनका उपलब्धि खोस्ने प्रयास भएको उनको भनाइ रहेको छ ।
उनले नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध सबै किसान एकजुट भएर अभियान नै संचालन गर्न आग्रह गरे। ुसंविधानको पालक, रक्षकबाट नै संविधान मिच्ने काम भएको बताउँदै उनले यो कदमका विरुद्ध अभियान संचालन गर्न आग्रह गरेका हुन् ।
साथै उनले परिवर्तन विरोधी शक्तिहरु माओवादी आन्दोलन असफल पार्न लागिपरिरहेको पनि बताए।
अहिले पनि एकथरी समूह आफ्नोविरुद्धमा षडयन्त्र गरिरहेको उनको भनाइ छ। यो देशमा अस्थिरताको कारण प्रचण्ड हो भनेर प्रचार गरिदै आएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्