२ लाख ३२ हजारले दिए म्यादी प्रहरीमा दरखास्त

काठमाडौं, असोज ७ ।  आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ ले आवेदन दिएका छन्।

देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न दर्खास्त दिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए। प्रहरी प्रधान कार्यालयले ३० भदौदेखि ६ असोजसम्म दरखास्त संकलन गरेको थियो।

दरखास्त दिनेमध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुनेछन्। म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन्। ९ असोजबाट म्यादी प्रहरीको छनोट सुरु हुनेछ। काठमाडौं उपत्यकामा ९ हजार ७१ जनाले दरखास्त दिएका छन्।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेस प्रदेशबाट सबैभन्दा धेरै आवेदन परेको छ। मधेस प्रदेशमा ६६ हजार ८८४ आवेदन संकलन गरिएका डीआईजी राईले बताए। चुनावमा खटिने म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन्। सो अवधिमा उनीहरुले तलब र रासनबापत ४१ हजार ९६० रुपैयाँ पाउनेछन्।

म्यादी प्रहरीले गाडी भाडा बापत १ हजार रुपैयाँ भत्तास्वरुप पाउँछन्। निर्वाचन क्षेत्रमा आउजाउ खर्चका लागि अर्थ मन्त्रालयले १ हजार भत्ता दिने निर्णय गरेको छ। ४० दिनमा तलबबापत म्यादी प्रहरीले ३४ हजार ७६० रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्