राष्ट्रपति भण्डारीलाई गोकुल बाँस्कोटाको आग्रह : कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गर्नूस्

काठमाडौं, असोज ७ ।  नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकाल सकिएपछि सक्रिय राजीतिमा आए हुने चाहना व्यक्त गरेका छन्।

पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था नभएको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले राष्ट्रपति भण्डारी राजनीतिमा आउनुपर्ने अपेक्षा राखेका हुन्।

यस क्रममा उनले पूर्वराष्ट्रपति डा. रामवरण यादवको नाम नलिईकन उनले पनि राजनीति गरिरहेको आरोप लगाएका छन्।

‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन। राजनीतिबाटै उनीहरू राष्ट्रपति हुन्छन्’, बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक मात्र पूर्वराष्ट्रपतिले पूर्वमान्यता अनुरूपको राजनीति गरेकै छन्। मेरो सीधा मत छ– वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो।’

संसदले दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले कुनै अमूक दलको ‘राजनीति’ गरिरहेको आरोप लागिरहेका बेला बाँस्कोटाको उक्त अभिव्यक्ति आएको हो।

राष्ट्रपति भण्डारी एमालेकै पूर्व नेतृ हुन्।

प्रतिक्रिया दिनुहोस्