राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनले आफ्नो महानता ठान्यो: ओली
काठमाडौं, असोज ६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सत्तारुढ गठबन्धनबाट आएको प्रतिक्रियाको आलोचना गरेका छन् ।
उनले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको आलोचना गरेर अपमान गरेको पनि बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा ओलीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भनेर राष्ट्रपतिले पठाउँदा सत्ता गठबन्धनले जस्ताको तस्तै पारित गर्ने कुरा गर्नु ठीक नभएको बताए ।
ओलीले वर्तमान ५ दलीय गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु महानता सोच्ने गरेको बताएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो सरकारसँग दिमाग छैन, ऊ मसलबाट सोच्छ । ऊ राष्ट्रपतिको अपमान गर्नु महानता हो भनेर सोच्छ ।’
सत्तारुढ गठबन्धनमा अहंकार बढेको ओलीको भनाइ छ । उनले सरकारमा अहंकार बढ्यो भने तानाशाही हुने बताए ।
उनले गठबन्धनसँग अहङ्कारै(अहङ्कार भएको बताए । ‘म सरकारलाई चेतावनी दिन चाहन्छु— खोपरीको दिमागले सोचौँ, मसलको भाषा नबोलौँ । लोकतन्त्रमा यस्तो हुँदैन । यो सरकारले संविधानको धारा १८१ एकपटक पनि पालना गरेको छैन । सधैँ उल्लंघन गरेको छ,’ उनले भनेका छन् ।
साथै ओलीले आफ्नो पार्टी देश, संविधान र कानुनको भाषा बोल्ने दाबी गरेका छन्। बिहीबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्। एमाले गठबन्धनका पार्टीजस्तो सुरक्षा खोज्दै दौडिने पार्टी नरहेको अध्यक्ष ओलीको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्