कांग्रेसलाई माधव नेपालको प्रश्न : यो देश तपाईहरूको ‘विर्ता’ हो ?
काठमाडौं, असोज ५ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसप्रति आक्रोशित पोखेका छन् ।
कांग्रेसले देश नै आफ्नो पेवा ठानिरहेको अध्यक्ष नेपालले आरोप लगाए । गठबन्धनको सिट बाँडफाँडको छलफलमा कांग्रेसले देश नै आफ्नो बिर्ता जस्तो ठानेको उनको भनाइ छ ।
‘पाँच दलीय गठबन्धनमा छलफल चलिरहेको छ । कुन दलले कति सिट लिने ? नेपाली कांग्रेसले त यो देश नै उनीहरूको पेवा जस्तो ठानिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘उनीहरूकै विर्ता भए जस्तो । आज त सुनाइ दिएँ, मैले यो तपाईंहरूको विर्ता हो ?’ अहिले चुनाव कसरी जित्ने भन्नेमा आफूहरू केन्द्रित रहेको उनको भनाइ थियो ।
नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर गल्ती गरेको बताएका छन्। ‘बालुवाटार बैठकले पनि राष्ट्रपतिको कदमलाई घोर निन्दा गर्ने निर्णय गरेको छ। जनतालाई सजग हुन आह्वान गरिएको छ। तर ठीक उल्टो केपी ओलीका मान्छेले राष्ट्रपतिको समर्थमा जुलुस निकाल्दैछन् रे,’ काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने।
उनले केपी ओली दक्षिणपन्थी भासमा भासिएको आरोप लगाए। त्यसलै यो कदमको भर्त्सना गर्नुपर्ने उनको भनाइ छ। ‘अहिले हामीले विरोध गरेन भने, भर्त्सना गरेन भने भोलि जे पनि हुनसक्छ। भोलि अरु कुरामा पनि राष्ट्रपति मनपरी चल्न सक्नुहुन्छ। तब के गर्ने?,’ उनको प्रश्न थियो।
उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति त्यही भएर सही नभएको बताए।a















प्रतिक्रिया दिनुहोस्