कसैलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन

काठमाडौं, असोज ५ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसदबाट पारित भएर आएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनले यस्तो बताएका हुन्।

‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन्,’ पुनले वक्तव्य जारी गरेर भनेका छन्, ‘यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो। संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन।’

संविधान दिवसमा गरेको प्रतिवद्धतालाई स्मरण गर्दै उनले संविधानको पालन र संरक्षणका लागि सबै पक्षसँग आग्रह गरेका छन्।

संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएको स्मरण गराउँदै उपराष्ट्रपति पुनले भनेका छन्, ‘संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ।’a

प्रतिक्रिया दिनुहोस्