हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ !

काठमाडौँ , असोज ४ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् ।

केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसैका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका हुन् ।

हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् ।

दसै आउन एक साता बाँकी हुदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ । हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् ।

विगतमा काठमाडौँ–धनगढी हवाई भाडा रु सात हजार पाँच सय रहेकामा अहिले अधिकतम रु १७ हजार कायम गरिएको छ ।

सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौँ रहेको छ । विराटनगर–काठमाडौँ एकतर्फी भाडा न्यूनतम रु चार हजार पाँच सय अधिकतम भाडादर रु १० हजार कायम गरिएको छ ।

अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ फर्कनका लागि टिकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्