करिब साढे २ सय दलले उम्मेदवारको बन्दसूची बुझाए

काठमाडौं , असोज ४ । राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई सोमबार साँझ ५ बजेसम्म अन्तिम मिति तोकेको थियो । प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलहरुले आफ्ना समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेका हुन् । प्रतिनिधिसभामा ६८ वटा दलले बन्द सूची पेश गरेकोमा ४८ वटा दल सूचीका लागि योग्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

तर प्रदेशहरुमा बन्द सूची पेश गर्ने दलहरुको संख्या भने २ सय ३८ वटा रहेको आयोगले जनाएको छ । समानुपातिकका लागि दलहरुले बुझाएका नाममा पहुँचवालाहरुको पल्लाभारी देखिएको छ । नेपाली कांग्रेसले बुझाएको सूची अनुसार सहमहामन्त्रीद्धय फरमुल्लाह मन्सुर, जीवन परियार, पूर्वउपसभापतिद्धय बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्वअर्थमन्त्री डा।रामशरण महत, केन्द्रीय सदस्य आरजु राणा देउवा र अम्बिका बस्नेत लगायतका मूख्य नेताहरु पनि समानुपातिक सूचीमा परेका छन् ।

नेकपा एमालेका शीर्ष नेताहरु भने प्रत्यक्ष प्रणालीबाट निर्वाचन लड्ने भएका छन् । रघुजी पन्त बाहेक अन्य शीर्ष नेता समानुपातिक सूचीमा छैनन् । माओवादीबाट पूर्वसभामुख कृष्ण बहादुर महरालाई नेकपा माओवादी केन्द्रले समानुपातिक सूचीमा राखेको छ । नेकपा एकीकृत समाजवादीका ३ जना पदाधिकारी उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर र सचिव नागेन्द्र चौधरीलाई समानुपातिक सूचीमा परेका छन् ।

सोमबार पेश भएको बन्दसूची १६ गतेसम्म सच्याउन सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्