पल शाह मुद्दाको पेसी दोस्रोपटक आज पनि स्थगित
काठमाडौं, असोज २ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका कलाकार पल (पूर्णविक्रम) शाहको पेसी दोस्रोपटक स्थगित भएको छ।
जिल्ला अदालत तनहुँमा आइतबारका लागि पेसी तोकिएकोमा न्यायाधीश अनुपस्थित भएपछि पेसी स्थगित भएको हो।
आइतबार बिहान गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो। तर पहिलो नम्बरका न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको हो। अर्को पेसीको मिति आजै बेलुकासम्म आउने बताइएको छ।
गत भदौ १५ गतेका लागि तोकिएको पेसी पनि स्थगित भएको थियो। गोलाप्रथा गर्दा न्यायाधीश दलबहादुर केसीको नाम परेको र केसी बिदामा रहेकाले स्थगित गरी आजका लागि पेसी दिइएको थियो।
तनहुँ जिल्ला अदालतमा दुई जनामात्रै न्यायाधीश छन्। दुवैको नाम लेखेर गोलाप्रथा गर्दा बिदामा बसेका न्यायाधीशको नाम आए सुनुवाइ स्थगित गरिन्छ।
एकै प्रकृतिको मुद्दामा गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको हो। उनी अहिले जिल्ला कारागार तनहुँमा रहेका छन्।
यता समयमा सुुनुवाई हुन नसक्दा उनका दर्शक र शुभन्तिक भने निराश भएका छन् ।
प्रतिक्रिया दिनुहोस्