चार दिने भ्रमण सम्पन्न गरि स्वदेश फर्किए चिनियाँ नेता ली
काठमाडौं , भदौ ३० । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फर्किएका छन् ।
उनलाई सभामुख सापकोटाले आज विहान ८: ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा हार्दिकतापूर्वक बिदाइ गरेका छन् ।जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए ।
सोही दिन सभामुख सापकोटा र अध्यक्ष ली चान्शुबीच शिष्टाचार भेटवार्ता भएको थियो । त्यस पछि सभामुख सापकोटा र अध्यक्ष लीले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गरेका थिए । वार्तापछि नेपालको संघीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
भ्रमणका क्रममा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । त्यस्तै उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । भ्रमणको क्रममा लीले भक्तपुर पुगेर त्यँहाको संस्कृतिक क्षेत्रको अवलोकन समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्