आजदेखि सोह्रश्राद्ध सुरु
काठमाडौ, २६ भदौ । । हिन्दू परम्पराअनुसार आज (२६ भदौ) देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म यो कायम रहने सोह्रश्राद्धमा पितृ वा दिवङ्गत पितृको तिथिमा तर्पण, सिधादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले यसलाई सोह्रश्राद्ध भन्ने गरिन्छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म श्राद्ध गर्न नपाउनेले आश्विन शुक्ल पञ्चमीसम्म र त्यसमा पनि नहुनेले कार्तिक कृष्ण औंसी अर्थात् गाई तिहारे औंसीका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ ।
चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडादशैं र तिहार जस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।
सोह्रश्राद्ध सुरु भएसँगै पशुपति क्षेत्रमा पनि सर्वसाधारणहरु दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्ने गर्दछन् । आज बिहान पशुपति क्षेत्रमा श्राद्ध गर्नेहरुको चहलपहल देखियो ।
प्रतिक्रिया दिनुहोस्