कांग्रेसले घोषणापत्रमा सस्तो लोकप्रियतालाई स्थान दिँदैन : महामन्त्री शर्मा

काठमाडौं, भदौ २४ ।  नेपाली कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माले कांग्रेसले घोषणापत्रमा सस्तो लोक प्रियतालाई स्थान नदिने बताएका छन्।

१०९औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी संग्रहालय सुन्दरीजलमा आयोजित कार्यक्रममा उनले घोषणापत्रमा कांग्रेसको ऐतिहासिक निरन्तरतालाई नवीनतामा लैजाने संकल्प रहने बताए।

‘कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान हुनेछैन। जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता रहनेछ,’ उनले भने, ‘घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिकदेखि फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणापत्रले समेट्नेछ।’

घोषणापत्र निर्माण समितिको संयोजकसमेत रहेका महामन्त्री शर्माले घोषणापत्र निर्माण तत्कालै सुरु गरिने जानकारी दिए। ‘घोषणापत्र निर्माण कार्य अब सुरु गर्दै छौँ,’ उनले भने, ‘स्थापनाकालमा बिपीले लेख्नुभएको दस्ताबेज, २०१५ को घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्ताबेजहरूको गहिरो अध्ययन अबको घोषणापत्र निर्माणका क्रममा गरिनेछ।’

बिपीलगायतका नेताहरूको सालिकमा माल्यार्पण गरेर अघिल्लो वर्ष महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि रोपेको रुद्राक्षको बिरुवामा जल सिञ्चन गरेर उक्त कार्यक्रम सुरु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्