नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड
काठमाडौं, भदौ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनु पर्ने बताएका छन् । पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन् ।
दोस्रो पटक पनि पठाइएको विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने वा यो विषय अदालत जाने उनले बताए । तर आफुले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गरेको पनि उनको भनाइ रहेको छ ।
भेटघाटमा प्रचण्डले भने, ‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ । दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ ।’
राष्ट्रपतिले अघिल्लो पटक नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेपछि सदनबाट जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति समक्ष पठाइएको छ ।
राष्ट्रपतिलाई यस्ता विधेयकमा चित्त बुझेन भने एकपटकलाई सदनमा फिर्ता गर्ने संविधानले अधिकार दिएको बताउँदै प्रचण्डले भने, ‘दोस्रोपटक पनि दुबै सदनबाट पारित भएर गएपछि राष्ट्रपतिलाई यताउति गर्ने अधिकार राष्ट्रपतिलाई छैन । प्रमाणीकरण गर्नुहुन्छ भन्नेमा यसपटक हामी आशावादी छौं ।’
यसअघि राष्ट्रपतिलाई भेट्दा उनले यसलाई ठूलै राजनीतिक मुद्दा बनाउने जस्तो देखेको आफूले पाएको प्रचण्डले सुनाए । सोही भेटमा आफूले राजीनामा दिने वा अदालत जाने विकल्पबारे राष्ट्रपतिलाई भनेको प्रचण्डले बताए ।
त्यस्तै प्रचण्डले सिट बाँडफाँट आजै टुंग्याउने बताएका छन् । त्यसका लागि आज अपराह्न तीन बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्