सीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप, आफू निर्दोष रहेको दाबी
काठमाडौं, भदौ २४ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका छन् ।
बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको उनले बताए ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै अनुसन्धानमा सघाउने बताए ।
बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।
काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।
प्रतिक्रिया दिनुहोस्