उद्योग, व्यापार क्षेत्र सुधारिँदै गएको मन्त्री बडुको दाबी

काठमाडौं, भदौ २३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले कोभिड महामारीको चपेटामा परेका उद्योग तथा व्यापार क्षेत्र सुधारिँदै गएको बताएका छन्।

मन्त्रालय सम्हालेको ५ महिने अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

२४ चैतमा मन्त्रालय सम्हाल्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापार र उत्पादनमूलक उद्योगको अवस्था जटिल रहेको र त्यसलाई नीति तथा कार्यक्रम एवं बजेटबाट सहज बनाउँदै लगेको मन्त्री बडुको भनाइ रहेको छ ।

‘उत्पादनमूलक उद्योग कुल उत्पादन क्षमताको ४० प्रतिशत मात्रैमा चलेका थिए। १० प्रतिशत त्यस्ता उद्योग बन्द भएका थिए,’ मन्त्री बडुले भने, ‘अहिले त्यस्ता उद्योग पुरानै अवस्थामा फर्किएका छन्। व्यापार आयातमा सहजीकरण र निर्यात २ खर्ब नाघेको छ।’

अर्थतन्त्रको सुधारका लागि मन्त्रालयले पहिले कार्यक्रम र त्यसलाई सहजीकरण गर्ने गरी नीतिगत व्यवस्था गरिएको पनि उनले बताए । मन्त्रालयले मुलुकलाई आत्मनिर्भर बनाउन र स्वदेशी वस्तुको उपभोगका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभियान घोषणा गरेको छ।

नेपाली वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न निर्यातमा अनुदान व्यवस्था गरिएको मन्त्रालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस्